20200407_204552

कविता : भ्रम र यथार्थ

गोविन्द रिजाल

कहिलेकाहीँ त,
आफैलाई लाग्छ
यो सारा संसार
मैले नै धानेको छु ।

बिहान सुर्य,
मेरै ईशारामा उदाउँछ
म दिनभरी
उज्यालो दिन
अह्राउछु उस्लाई
दिनभरीको कामले थाकेपछि
मलिन अनुहार पार्छ सुर्यले
सोध्छ के गरौ ?
आराम गर्न भन्छु
र बिलाउँछ अध्यारोमा ।

हैन यो अध्यारोमा,
बस्न सम्भव होला र ?
चन्द्रमाले सोध्छ
ताराहरू सोध्छन
सकेजति प्रकाश दिन
अह्राउछु सबैलाई
सबैले सम्हाल्छन
आफ्नो आफ्नो जिम्मेवारी ।

अर्थात,
मलाई ढुक्क छु
सबैले आदेश पालना गरेपछी
के होला कसो होला
सोच्नै पर्दैन
र निदाउँछु मजाले म पनि ।

सुर्य र चन्द्रमाले
आदेश मानेकै छन
नदी, पवन,वृक्षले
आदेश मानेकै छन
अझ ढुँगालाई त
नहल्लिएर
स्थिर बस्न भन्छु
बस्छ टसमस नभएर
त्यसैले मलाई लाग्छ
यो सारा संसार मैले नै धानेको छु ।

तर,
अचेल म आफैले
आफैलाई प्रश्न सोध्छु
साच्चै सबैले मेरो आदेश
मानेका हुन त ?
सुर्य, चन्द्र, आकाश, धर्ति
सबै मेरै आदेशले चल्छन त ?
निरूत्तरीत छु म ।

एउटा मान्छेलाई,
मात्र एउटा मान्छेलाई
घरमै बस भन्छु
फुत्त बाहिर निस्किन्छ
एक्लै बस भन्छु
जुलुस निकाल्छ
दायाँ नजानु खतरा छ भन्छु
त्यतै पुग्छ
बायाँ नजानु भिर छ भन्छु
त्यतै पुग्छ
त्यति जाबोलाई पनि
तह लगाउन नसक्ने
मैले कसरी संसार धाने हँ ?

सोच्छु,
एकजनासँग त मैले
सकिन
एकै पटक सयौ आए
के गरूला ?
हजारौ आए
के गरूला ?
लाखौ आए भने त
मै डाईनोसर हुन बेर छैन ।

अनि,
म नभए संसार चल्दैन
भन्ने भ्रम पालेर
कति दिन पो सकिएला र
यी मान्छेहरूलाई
तह लगाउन
आफै मान्छेहरू
निर्जिव र विवेकशुन्य भएसम्म ।

About Kesharman Bc

Social Media Auto Publish Powered By : XYZScripts.com