IMG_0777

शहीद लखन थापा, कामी बुढा र भीमदत्तपन्तका चिहान उत्खनन् गर्नुपर्छ : प्रचण्ड

राजेन्द्र न्यौपाने
गोरखा, २ फागुन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले  परिवर्तन चाहने, न्याय चाहने, स्वतन्त्रता चाहने पार्टी र नेताहरुले या कार्यकर्ताहरुले इतिहासको चिहानमा गाडिएका क्रान्तिकारीहरुका लासलाई उत्खनन् गर्नुपर्ने बताए । उनले  त्यहाँबाट खोतल्नुपर्ने तत्काल शासन गर्ने अत्याचारीहरुका विरुद्ध, इतिहासको गहिराईमा दवाईएका शवहरु उत्खनन गरेर उनीहरुका अस्थिपञ्जर एकचोटि देखाउनुपर्ने बताएका छन् ।

IMG_0777गोरखा जिल्ला स्थित सहिद लखन गाउँपालिकाको आयोजनामा भएको प्रथम सहिद लखन थापा र जैसिङ चुमी रानाको १४३ औं स्मृतिमा बुँकोटमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

कार्यक्रममा बोल्दै प्रचण्डले भने,“ कार्ल माक्र्सले एक पटक जर्मनको क्रान्ति र प्रतिकान्ति, फ्रान्सको क्रान्तिका सन्दर्भमा भन्नुभएको थियो । म कार्ल माक्र्सको त्यो भनाइबाट प्रभावित भएँ । अव लखन थापाको इतिहासलाई खोतल्नुपर्छ । लखन थापाको के ऐतिहासिक महत्व हो ? कामी बुढाको के महत्व हो, भीमदत्त पन्तको विद्रोहको के महत्व हो, झापा विद्रोहको के महत्व हो अरु पनि थुप्रै त्यस्ता महान सहिदहरु जो गुमनाम बनाइएका थिए । जसका बारेमा चर्चा परिचर्चा गर्न पनि मानिसहरुले छोडेको जस्तो थियो ति सबै अन्यायका विरुद्ध लड्ने र बलिदान गर्ने सहिदहरुलाई जीवित पार्नुपर्छ भनेर सुरु गरिएको थियो । म आज तपाई यस लखन गाउँपालिका र वरिवरीका तमाम समुदाय र पार्टीका साथिहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु, मलाई गर्व छ सहिद लखन थापा नेपालको प्रथम सहिद घोषित हुुनुभयो ।

२०५१ सालमा लखन थापा नेपाली इतिहास महान सहिद हुन भनेर दस्तावेजमा लेखेको स्मरण गर्दे अहिले उहाँलाई प्रथम सहिदको रुपमा पाउनु आफूलाइ गर्व लागेको छ । ”

नेपालको एउटा विचित्रको स्थिति के छ भने यहाँ जति पनि पार्टीहरु प्रमुख पार्टीको रुपमा जति छन उनीहरुले एउटा कालखण्डमा हतियार उठाएकै छन्, सशस्त्र संघर्ष गरेकै छन् । २००७ सालमा राणा शासन विरोधी आन्दोलन गर्ने क्रममा नेपाली काँग्रेसले उठाएको हतियारका कारण धेरै सहिद भए । सबैभन्दा पहिले नेपाली काँग्रेसले २००७ सालमा हतियार उठाएकै हो, लडाईबाट नै सत्ता कब्जा गर्न खोजेकै हो ।

२०२८ सालमा तत्कालिन कोअर्डिनेसनका नाममा झापाका क्रान्तिकारी युवाहरुले शसस्त्र संघर्षको उद्घोष गरेकै हुन् र त्यो क्रममा थुप्रै होनाहार क्रान्तिकारी योद्धाहरुले सहादत प्राप्त गरे । तपाई हामीलाई थाहा छ, रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुईकेल, रत्नकुमार बान्तवा लगायत होनाहार युवाहरुको सहादत त्यतिबेला भएको उनले बताए । त्यहि क्रमको पछिल्लो कडिको रुपमा २०५२ सालबाट माओवादीको नेतृत्वमा जनयुद्धको उद्घोष भने भने यी सबै शसस्त्र संघर्षहरु र शान्ति पूर्ण जनआन्दोलनको परिणाम स्वरुप संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेका छौं ।

आज भन्दा १५ वर्ष अघि सहिदहरुका बारेमा चर्चा गर्न पाउने स्थिति नभएको उनले बताए । प्रथम सहिद लखन थापालाई राष्ट्रिय विभूति र जैसिङ चुमी रानालाई सहिद घोषणा गर्न आफू सकरात्मक भएको उनले बताए ।

सहिद लखन गाउँपालिका अध्यक्ष रमेश थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा निर्वाचन क्षेत्र नं. १ का सांसद हरीराज अधिकारी, गण्डकी प्रदेशका मन्त्रीहरु रामशरण बस्नेत, लेख बहादुर थापा लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा सहिद वेपत्ता परिवारहरुलाई सम्मान गरिएको थियो । प्रथम सहिद लखन थापा स्मृति कपमा विजयी खेलाडीहरुलाई प्रमाणपत्र र पुरस्कार वितरण गरिएको थियो । कार्यक्रम गाउँपालिका प्रशासकिय अधिकृत जीवन आले मगरले सञ्चालन गरेका थिए ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com