korola

कोरोना आतंक : आवश्यक परे विमान चार्टर्ड गरेर नेपालीलाई स्वदेश फर्काउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, १३ माघ । कोरोना भाइरस नियन्त्रण तथा चीनमा रहेका नेपालीलाई उद्धार गर्ने विषयमा प्रधानमन्त्री केपी ओलीले पहलकदमी लिएका छन् । आवश्यक परे विमान चार्टर्ड गरेर पनि चीनको वुहानबाट नेपाली विद्यार्थीलाई उद्धार गर्न प्रधानमन्त्रीले मन्त्रीहरूलाई निर्देशन दिएका छन् । कोरोना संक्रमणबारे छलफल गर्न प्रधानमन्त्री ओलीले आइतबार उच्चस्तरीय बैठक बोलाएका थिए ।

korola बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, पर्यटनमन्त्री योगेश भट्टराईका अतिरिक्त मुख्यसचिव, विभिन्न मन्त्रालयका सचिव र विभागका महानिर्देशकहरू सहभागी थिए । संक्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकाका अतिरिक्त पोखरा, चितवन र लुम्बिनी क्षेत्रमा पनि उपचारको प्रबन्ध गर्ने, नाकाहरूमा थप सतर्कता अपनाउने एवं चीनमा रहेका नेपालीको उद्धार गर्न तयारी अवस्थामा बस्ने निर्णय भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

आवश्यक पर्दा विमान चार्टर्ड गरेर पनि चीनको वुहानबाट नेपाली विद्यार्थीलाई उद्धार गर्ने तयारी गरिएको मन्त्री ज्ञवालीले बताए । ‘अमेरिकाले मंगलबार आफ्ना नागरिकलाई चीनबाट लैजाने भन्ने जानकारी आएको छ, श्रीलंकाले पनि तयारी गरिरहेको भन्ने छ,’ परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘त्यस्तो अवस्थामा नेपालीलाई एअरलिफ्टिङ गरेर ल्याउनका लागि हामी पनि तयारी अवस्थामा छौँ ।’ तर, अहिले वुहान यात्रामै प्रतिबन्ध लगाइएकाले तत्कालै त्यहाँबाट मानिसलाई ल्याउन कठिन रहेको उनले बताए ।

वुहानमा रहेका ९६ जना विद्यार्थीसँग बेइजिङस्थित दूतावासले नियमित रूपमा सम्पर्क गरिरहेको पनि उनले जानकारी दिए । ‘विच्याट ग्रुप बनाएर दूतावासले विद्यार्थीसँग नियमित अपडेट लिइरहेको छ । बाहिरको हल्लाका कारण उनीहरू आतंकितजस्तो देखिएका छन्,’ मन्त्री ज्ञवालीले भने, ‘तुरुन्तै उद्धार गरिहाल्नुपर्ने अवस्था छैन । तर, परिआउँदा हामी तयारीमै छौँ ।’ नयाँ पत्रिकाबाट

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com