baluwatar

बालुवाटार जग्गा प्रकरण : कर्मचारी र बिचौलियाले कागजपत्र किर्ते गरी व्यक्तिको नाममा

काठमाडौं, २८ पुस । बालुवाटारको एक सय ३४ रोपनी सरकारी जग्गा कर्मचारी र बिचौलियाले नै सरकारी कागजपत्र किर्ते गरेर व्यक्तिको नाममा लगेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले निष्कर्ष निकालेको छ । सिआइबीले यो प्रकरणमा राजनीतिक संलग्नता भने नभेटिएको जनाएको छ ।

baluwatarएसपी बेलबहादुर पाण्डेको नेतृत्वमा बालुवाटार प्रकरण छानबिन गरिरहेको ब्युरोले कर्मचारीले नै किर्ते कागजपत्र बनाई मन्त्रिपरिषद्सम्म पेस गरेर सरकारी जग्गा व्यक्तिको नाममा लगिएको निष्कर्ष निकालेको हो । ब्युरोले १० महिना लामो अनुसन्धान टुंग्याएर संलग्न कर्मचारी र बिचौलियाविरुद्ध मुद्दा चलाउने तयारीसमेत गरेको छ । ‘हाम्रो अनुसन्धानमा यो सबै खेल कर्मचारीले गरेको देखियो,’ ब्युरोका एक अधिकारीले भने, ‘कर्मचारीले नै मन्त्रिपरिषद्लाई समेत झुक्याएको देखिन्छ ।’

अदालतको फैसलासमेत किर्ते बनाएर पेस गरिएको छानबिनमा खुलेको छ । मोहीको नाममा नामसारी गरिएको सो जग्गा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समरजंग कम्पनीकै नाममा राख्ने निर्णय गरेको थियो । त्यसविरुद्ध अदालतमा उजुरी परेकोमा आयोगले आफ्नो क्षेत्राधिकार मिचेर निर्णय गरेको अदालतको फैसला थियो । तर, जग्गा मोहीकै नाममा हुने उल्लेख थिएन । तर, उनीहरूले सो जग्गा मोहीकै नाममा राख्न फैसला गरेको कागजपत्र डिल्लीबजार मालपोत कार्यालयमा पेस गरी, भूमिसुधार मन्त्रालय हुँदै मन्त्रिपरिषद्मा लगेर आफ्नो पक्षमा निर्णय गराएका छन् । यसरी आफ्नो पक्षमा निर्णय गराउन धेरै कागजपत्र किर्ते गरिएको छानबिनमा आबद्ध अधिकारी बताउँछन् ।

मोहीसम्बन्धी समेत नक्कली कागजपत्र बनाइएको थियो । केही पैसा दिएर अधिवक्ता रामप्रसाद सुवेदीले आफूहरूलाई हस्ताक्षर गर्न लगाएको, अरू केही जानकारी नभएको मोहीले बताएका छन् । नक्कली मोही खडा गरी मन्त्रिपरिषद्बाट मोहीलाई जग्गा दिने निर्णय गराइएको थियो । नक्कली मोहीको नाममा दर्ता भएको केही दिनमै सो जग्गा सुवेदी र शोभाकान्त ढकालको नाममा लगिएको थियो ।

सिआइबीले कर्मचारी, बिचौलिया, मोही तथा जग्गाधनी गरी करिब डेढ सय व्यक्तिसँग बयान लिइसकेको छ । प्रकरणमा जोडिएका सबैसँग बयान लिएर ब्युरोले सरकारलाई प्रतिवेदन बुझाउन लागेको छ । छानबिनका लागि ब्युरोलाई सरकारले दिएको म्याद सोमबार सकिँदै छ । तोकिएको म्यादभित्रै प्रतिवेदन बुझाउने तयारी भइरहेको ब्युरोका निर्देशक डिआइजी निरज शाहीले बताए । नयाँ पत्रिकाबाट

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com