rambabau

लाख दिएर करोड असुल्ने साहुकार यादव पक्राउ

काठमाडौं, २४ पुस । लाख ऋण दिएर करोडको तमसुक बनाउने र जग्गा बन्धकी मात्रै होइन, रजिस्ट्रेसन नै पास गरेर १५ सय व्यक्तिलाई ठग्ने खुंखार साहुकार रामबाबु राय यादव प्रहरी फन्दामा परेका छन् । सर्लाही बरहथवा–१० सीतापुरका रायको ठगीधन्दाबारे बुधबार नयाँ पत्रिकाले समाचार प्रकाशित गरेको थियो ।

rambabauआफ्ना कर्तुत सार्वजनिक भएपछि भेष बदलेर भाग्दै गरेको अवस्थामा यादवलाई बुधबार दिउँसो साढे १२ बजे प्रहरीले सर्लाहीको हरिपुरबाट पक्राउ गरेको हो । सहयोगीले चलाएको मोटरसाइकलमा बसेर उनी मलंगवातिरबाट नवलपुरतर्फ आउँदै थिए । कालो मास्क लगाएका उनले सजिलै कसैले नचिनून् भनेर गम्छाले टाउको ढाकेका थिए ।

हरिपुर–१ स्थित मलंगवा सडकखण्डमा प्रहरी एम्बुसमा परेका उनले फुत्किने कोसिस गरेका थिए । प्रहरीले छाड्ने संकेत नदेखाएपछि आफू राष्ट्रिय जनता पार्टीको केन्द्रीय सदस्य भएको भन्दै धम्क्याए । केहीबेर प्रहरीसँगको भनाभनमा उनले हातपातको प्रयाससमेत गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी प्रतीक राठौरले बताए । ‘रामबाबु भेष नै बदलेर सहयोगी लिएर भाग्दै गरेको सूचना आएपछि प्रहरीले एम्बुस थापेर पक्राउ गरेको छ,’ डिएसपी राठौरले भने ।

सर्लाही प्रहरी प्रमुख एसपी विश्वमणि पोखरेलले यादवको ठगीधन्दा नयाँ पत्रिकाबाट बाहिरिएपछि पक्राउ गर्न सहज भएको बताए । ‘हामीलाई पीडितहरूको औपचारिकरअनौपचारिक उजुरी आइरहेका थिए । तपाईंहरूले पनि सार्वजनिक गरिदिएपछि पक्रिन सहज भयो,’ एसपी पोखरेलले नयाँ पत्रिकासँग भने ।

रायलाई अहिले जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा राखिएको छ । प्रहरीले उनीविरुद्ध अनुसन्धान सुरु गरिसकेको छ । प्रहरीका अनुसार रायविरुद्ध बुधबार मात्रै २० भन्दा धेरै लिखित उजुरी परेका छन् । मौखिक उजुरी दिनेको संख्या झन् धेरै छ । अधिकांश जाहेरी ठगी मुद्दाअन्तर्गत रहेको एसपी पोखरेलले बताए । ‘अधिकांश उजुरीमा ठगी मुद्दा आकर्षित हुन्छ ।

अनुसन्धान सुरु भइसकेको छ । उजुरीको सूक्ष्म अध्ययन गरेर कानुनअनुसार मुद्दा चलाउँछौँ,’ पोखरेलले भने । आवश्यक कागजात अध्ययनका लागि प्रहरीले रायको घरमा पनि छापा मार्ने तयारी गरेको छ । उनी, उनका परिवार र आफन्तको नाममा रहेको बैंक खातासमेत अध्ययन गर्नेछ । खातामा भएको सम्पूर्ण ट्रान्जेक्सनको गहन अध्ययन गरेर मुद्दा चलाउने प्रहरीले जनाएको छ । नयाँ पत्रिकाबाट

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com