goat

विदेशबाट फर्किएर गाउँमै बाख्रापालन

म्याग्दी, १८ पुस । नेपालबाट धेरै युवा रोजगारीका लागि विदेशिन्छन् । तीमध्ये अधिकांशको समस्या एउटै हुन्छ– सम्बन्धित देशमा श्रम र पसिना बेच्छन्, केही वर्षमा घर फर्किन्छन् । कमाएर ल्याएको पैसाले सधैं चूलो चल्दैन । अनि के गर्ने ? अन्ततः उनीहरू पुनः विदेश नै लाग्छन् ।

goatगाउँका साथीहरू धमाधम वैदेशिक रोजगारीमा जान थालेपछि बेनी नगरपालिका–३ भकिम्लीका केशव शर्मा निउरे पनि ऋण खोजेर बाहिर गए । आकर्षक तलबको प्रलोभनमा यूएई पुगेका शर्माले कम्पनीको नियम अनुसार काम गर्दा समेत अपेक्षा गरे अनुसार कमाउन सकेनन् । त्यसपछि अझै राम्रो कमाउने आशामा उनले साउदी अरब, ओमान र मलेशियामा करीब आधा दशक बिताए ।

विदेशको दुःख, त्यहाँको काम गर्ने वातावरण, परिवेश आदि सबै कुराको अनुभव भएपछि शर्मालाई लाग्यो– सधैं विदेश बसेर मात्र हुँदैन । आफ्नै गाउँ ठाउँमा केही गर्नुपर्छ । हो, यही सोचले उनी गाउँ फर्किए र शुरू गरे कृषि र पशुपालन । दरिलो आँट, आत्मविश्वास र मेहनतका साथ यो व्यवसायमा लागिपरेका उनी अहिले यसैमा सन्तुष्ट देखिन्छन् । ‘आफ्नै गाउँघरमा बसेर विदेशको जत्तिको आम्दानी गर्न सफल भएको छु,’ उनी भन्छन् ।

व्यवसाय थालेको २ वर्षमै आफूले राम्रो प्रतिफल लिन सकेको शर्मा बताउँछन् । ‘विदेशमा धेरै कुरा देखियो भोगियो,’ उनी भन्छन्, ‘गाउँ फर्किएपछि यहीँ स्वरोजगार उद्यमी हुने सोचले कृषिमा लगानी गरेको हुँ ।’ परिवारको सहयोगमा ‘असिम आधुनिक बाख्रापालन फार्म’ सञ्चालन गरेका उनीसँग अहिले बोयर क्रस, जमुनापारी, बिटल, खरी लगायत जातका २५ ओटा बाखा छन् ।

फार्मको पूर्वाधार निर्माण, माऊ बाख्रा खरीद लगायतमा २० लाख रुपैयाँभन्दा बढी लगानी भइसकेको शर्माको भनाइ छ । बाख्रापालनलाई थप व्यवस्थित र व्यावसायिक बनाउने तयारीमा रहेका उनले भविष्यमा आफ्नो फार्ममा उत्पादित बाख्रालाई अन्य जिल्लामा समेत निकासी गर्ने लक्ष्य लिएका छन् ।
शर्माले करीब १० रोपनी क्षेत्रफलमा व्यावसायिक सुन्तलाखेती समेत थालेका छन् । साथै सुन्तला उत्पादनको हिसाबले पकेट क्षेत्र मानिने भकिम्ली र आसपासका क्षेत्रका कृषकलाई लक्षित गरी नर्सरीको पनि स्थापना गरिएको उनी बताउँछन् अभियानमा खबर छ। आफूले अहिले वार्षिक ६० हजार रुपैयाँ बराबरको सुन्तला बेच्ने गरेको उनी सुनाउँछन् ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com