goat

प्यूठानमा फस्टाउँदै व्यवसाय बाख्रापालन

प्यूठान, ८ मंसिर । मुलुकमा रोजगारीको वातावरण नभएको भन्दै दैनिक हजारौं युवाहरु बिदेश पलायन भइरहेका बेला प्यूठानमा पछिल्लो समय व्यावसायिक बाख्रापालनतर्फ युवाहरु आकर्षित हुँदै गएका छन् ।

goatव्यावसायिक बाख्रापालनका लागि स्थानीय सरकार, प्रदेश तथा केन्द्र सरकारले अनुदान दिन थालेको र बाख्रापालनका लागि प्यूठान राम्रो संम्भावना भएको जिल्ला भएका कारण व्यावसायिक बाख्रापालन गर्ने युवाको संख्यामा वृद्धि हुँदै गएको हो ।

जिल्लाका युवाले यो व्यवसायबाट राम्रो आम्दानीसमेत लिन लिइरहेका छन् । जसमध्येका एक हुन् माण्डवी गाउँपालिका २ मर्काबाङका दल बहादुर खत्रीका तिन दाजुभाई । शिक्षक पेशा छाडेर दल बहादुर खत्री सहित तिन भाई बाख्रापालनमा सक्रिय छन् । उनीहरुले बिगत ८ वर्षदेखि गाउँमा यो व्यवसाय सञ्चालन गर्दै आएका छन् । उनीहरुले सञ्चालन गरेको बाख्रा फर्म अहिले प्यूठान जिल्लाकै नमूना फर्म बनेको छ ।

३० ओटा बाख्राबाट शुरु गरिएको फर्ममा ३००भन्दा बढी बाख्रा छन् । लेकाली बाख्रापलन फर्म दर्ता गरी यो व्यवसाय शुरु गरेको व्यावसायी दल बहादुर खत्री बताउँछन् । ‘आफ्नो गाउँको स्रोत साधनको उपयोग गरी स्वरोजगार बन्न प्रयास गरेका हौं’, उनले भने ।

उनले खसीबोका विक्री गरेर वर्षमा रू।३० लाख बढि आम्दानी गर्दै आएका छन् । फर्मबाट उत्पादन भएका खसीबोका प्यूठान जिल्लाका बिभिन्न स्थानसहित दाङ,रोल्पा लगायतका जिल्लामा विक्री वितरण हुने गरेको अर्का व्यावसायी हेमराज खत्रीले बताए ।

‘खसीबोकाको विक्रीका लागि बजारको समस्या छैन’ उनले भने, ‘हाम्रा खसीबोका बाहिरी जिल्लामा पनि जान्छन् ।’ तिन दाजुभाइ हेमराज, यदुराम र दलबहादुर खत्रीले जिल्लामै पहिलो पटक व्यावसायिक रुपमा खसीबोका पालेका हुन् ।

उनीहरुले बाख्रापालनका लागि सामुदायीक वनको २२२ रोपनी र आफ्नो चार हेक्टर जमीनमा घाँस रोपका छन् । उनीहरुको फर्म पछिल्लो समय सिक्ने र अनुगमन गर्ने केन्द्र समेत बन्दै गएको छ ।

यस वर्ष मात्रै ब्याड बोका र माउबाख्रा गरी १०० ओटा विक्री भएका छन् । जसबाट उनीहरुले रू।१६ लाख भन्दा बढि आम्दानी गरेका छन् ।यस्तै प्यूठान नगरपालीका ३ बिजयनगर डुर्मेलीका तिन दाजुभाइले पनि गाउमै व्यावसायिक बाख्रा पालन शुरु गरेका छन् ।

स्थानीय बीके, टुकमान र शोभाराम सुनारले फर्म सञ्चालन गरेका छन् । रू।५० लाखको लागतमा उनीहरुले फर्म सञ्चालन गरेका हुन् । उनीहरुको फर्ममा अहिले ५० ओटा माउवाख्रा छन् ।

उनीहरुजस्तै यहाका ५० भन्दा बढि युवाहरुले व्यावसायिक रुपमै बाख्रा पाल्न शुरु गरेको पशु बिज्ञ केन्द्र तथा पशु सेवा कार्यालय, प्यूठानका अधिकृत बासुदेब श्रेष्ठले बताए राजेश जीसीले अभियानमा समाचार लेखेका छन्।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com