20191118_193723

एम.फिल.अध्ययनको रन्को : आत्मानुभूतीको फन्को

अम्बिकाप्रसाद डाँगी

ज्ञानार्जन निरन्तर चलिरहने पक्रिया हो । समयक्रममा हिजो सिकेका कुरा आज र आज सिकेका कुरा भोलि अप्रर्याप्त हुन सक्छन् । जीवनको पूर्णताको प्रयासका क्रममा निरन्तर सिकाइ चलिरहन्छ । यस्ता सिकाइहरू औपचारिक र अनौपचारिक तवरले चलिरहन्छन् । कुनै चिज प्राप्त गर्नुभन्दा पहिले समस्या होइन त्यसको फाइदाको बारेमा ध्यान दिनु जरुरी छ । त्यसैले प“रिश्रम भन्दा पनि त्यस कामको फाइदाको बारेमा ध्यान दिनु जरुरी छ । पन्ध्रवर्ष अघि त्रि.वि. बाट एम.ए.पूरा गरेर म.ब.क्या.दाङमा प्रवेश गरेपछि शिक्षण सिकाइको प्राज्ञिक थलोमा केही कुराहरूको अभावको अनुभूति भइरह¥यो । विशेष गरेर स्तातकोत्तर तहमा अध्यापन गर्ने क्रममा प्राध्यापकको शैक्षिक तह र ज्ञान विद्यार्थीको भन्दा केही बढी हुनु सामाजिक, प्राज्ञिक र नैतिक दृष्टिले पनि आवश्यक छ । यही आवश्यकता र जिम्मेवारीलाई पूर्णता दिन विधावारिधिको अध्ययन गर्ने चाहना आर्थिक, पारिवारिक एवम् शैक्षिक जिम्मेवारीले सजिलै प्राप्त हुन सकेन । विधावरिधिका लागि एम.फिल.योग्यता अनिवार्य हुनुपर्ने र त्यसका लागि जागिरलाई नै छाडेर काठमाडौंमा नियमित विद्यार्थीको रुपमा रहनुपर्ने टड्कारो समस्या देखियो । पटक पटक त्रि.वि.बाट नेपाली विषयमा एम.फिलका लागि प्रयास गरे पनि नियमित उपस्थित हुनै पर्ने प्रावधानका कारण सम्भव हुन नसकेकाले विकल्पको खाजीमा थिएँ । कति मान्छेको जीवन राम्रो मौसमको प्रतीक्षा गर्दा गर्दै त्यतिकै बित्छन् । राम्रो मौसम राम्रो कुरा हो तर राम्रो मौसमको प्रतीक्षा गरेर बस्नु मात्रै राम्रो कुरा होइन । यसै क्रममा शिक्षा तर्फको एम.फिल.खुला विश्वविद्यालयबाट चल्ने थाहा पाएँ । मानविकी सङ्कायको विद्यार्थीका लागि शिक्षशास्त्रको एम.फिल.गर्नु आफैंमा कठिन जोखिम उठाउनु हो भन्ने जान्दा जान्दै “भिड्ने विजय वा मृत्यु नभिड्ने पराजय वा मृत्यु” भन्ने उक्तिलाई मनन गर्दै जो परि परि भनेर भिड्ने आँट गरें । सरु भक्तले ‘चुली’ उपन्यासमा भनेका छन् “हिमालमा जोखिमहरू हुन्छन् । जीवनमा हिमालहरू हुन्छन् । जीवन भनेको जोखिमहरूको एक सुन्दर कविता हो । जीवनमा कति मान्छेहरू थोरै थोरै परिश्रम गरी धेरै धेरै आराम खोज्छन् । जीवनमा कतिपय मान्छेहरू अल्छी बन्नकै लागि जन्मन्छन् त्यसैले जीवनका सुनौला अवसरहरूलाई शत्रुतापूर्ण दृष्टिले हेर्छन् । हिमालको चुली र जीवनको चुली चढ्नेलाई यस्तो कुरा सुहाउँदैन । अल्छीले कहिल्यै चुली टक्न सक्दैन ।” यी सारगर्वित जीवनोपयोगी भनाइलाई आत्मसाथ गर्दै एम. फिलका लागि दरखास्त दिएँ र नाम निस्किए पछि निकै उत्साह र उमङ्गका साथ आधुनिक प्रविधिसँग सात्क्षत्कार गर्दै मेरो एम. फिल. अध्ययनको थालनी भयो ।
एम. फिल. एक अनुसन्धान तह भएकाले यसका विषयवस्तु, विधि, पद्दतिहरू अलिक भिन्न किसिमका छन् । परम्परित ढङ्गले अध्ययन गर्ने बानी परिरहेको बेलामा नयाँ प्रविधिसँग जोडिएर ज्ञानार्जन गर्दा सुरुसुरुमा केही जटिलता त हुन्छ नै । जुनसुकै कामलाई पनि राम्रोसँग गर्ने विश्वास राख्नु आफैंमा एउटा इमान हो । मैले अध्ययनको क्रममा प्राप्त गरेका धारणाहरूलाई साना साना थुम्काहरू पार गर्दै गरेको अवस्थामा पाएँ । गुरुहरूका विचारहरू ध्यान दिएर सुन्ने र एक पछि अर्को गृहकार्य र प्रस्तुतीकरणहरू गर्दै जाँदा आशाहरू अंकुरित हँुदै गए । अध्ययनका सामग्रीहरू अङ्ग्रेजीमा भएकाले आफैंले स्वअध्ययन गर्न एकातिर जटिलता थियो भने अर्कातिर केही प्राध्यापकले अङ्ग्रेजीको ज्ञान कम भएकाहरूको समस्यालाई नबुझेर आफ्नै डम्फुबजाई गर्नाले झनै समस्या थपिएको थियो । भनिन्छ– ‘समस्याहरू गुज्रनका लागि आउँछन्, अडिइरहनका लागि आउँदैनन् ।’ विषयवस्तुगत कुरोको चुरो नबुझेर म कुदेको मात्र थिएँ तर मलाई कति मिटरको दौड भन्ने पनि थाहा थिएन । जवाहरलाल नहेरुले भन्छन्ः कठिनाइले मानिसलाई आत्मज्ञान गराउँछ । यसले हामीलाई देखाउँछ कि हामी कुन माटोबाट बनेका छौं । जे जस्ता निरासाहरू आए पनि हिम्मत चाहिं हारिन र निरन्तर आफुँलाई अनुकुल बनाउने प्रयास जारी राखें । आत्महत्या गर्नु त कायरता हो, बाँँच्नुमा जति अर्थ छ अरु के छ ? दुःख झेलेरै जीवन बाँच्ने हो, जीवन झेल्न डराउनु हुँदैन, जुध्नेले नै जित्छ, हार्ने डरले भाग्नेहरू सुन्दर जीवन गुमाउनु बाहेक केही पाउदैनन् । अव्यवस्थित पाठ्क्रम, समयको सीमा , सामग्रीको अभाव, कतिपयको जिम्मेवारीबोधको अल्पता, बेलाबेलामा ल्यावटवमा आइरहने समस्या, विद्यार्थीको ज्ञानको दायरा र मनोविज्ञान नबुझेर जबर्जस्त लादिएका अङग्रेजी भाषाका विषयवस्तु, कमजोर नेटवर्क, क्लास लिन नसकिने व्यस्तता एवम् आलस्यता, सञ्चारप्रविधिको प्रयोग गर्ने ज्ञानको कमी, गृहकार्यको चाङ्ग, आदि कुराहरूले बेलाबेलामा हतास, निरास र विचलित पनि पारेकै हुन् तथापि जीवनमा दुख छ तर दुख नै जीवन होइन । जीवनको चुली टेक्न डराउनेहरू कहिल्यै चुलीको स्पर्ष पाउन सक्दैनन् भन्ने उक्तिलाई मनन गरी अगाडि बढिरहे ।

सफलता कहिल्यै पनि एक्लै हात पार्न सकिदैन । सहपाठीहरूको साथ सहयोग एवम् विशेष गरेर गरुचेलाको आत्मीयता, सहकार्य,एवम् सहयोगी भावनाबाट नै केही उपलब्धी हुन सकेका हुन् । सहकार्यको महत्वलाई बुझाउँदै हरिवंशले ‘महको म’को भूमिकामा भनेका छन् ‘फलामले बनेको सियो चुच्चो हुन्छ, यसले कहिलेकाहीं घोच्छ पनि । धागो नरम हुन्छ, यसले कसैलाई घोच्दैन, बिझाउँदैन पनि । चुच्चो सियोको पुच्छरमा भएको प्वालमा धागो छिराएपछि सियो र धागोको अस्तित्व हुन्छ र यसले धरै कुरालाई सिलाएर जोड्न सकिन्छ ।’ एम.फिलको दौडानमा मैले यस्तै धागोरुपि गुरुहरू प्रा.डा.रमेश भट्टराई, डा.जीवन खनाल, डा.दीर्घराज जाशी, डा.चूडामणि पाण्डेय, डा.रजनी ढकाल(काफ्ले), डा.रुमा मानन्धर, एवम् दर्शानाचार्यद्वय नवीन पौैडेल, देवीराम आचार्य, लगायतका गुरु गुरुआमालाई पाएँ ,जसलाई जीवनको सौभाग्यको रुपमा लिएको छु । मैले उहाँहरूबाट थुप्रै कुराहरूको प्रेरणा लिने अवसर, सङ्घर्षको मिठास एवम् ज्ञानको लम्बाइ, चौडाइ, गहिराइ एवम् मोटाइको नापतौल गर्ने अवसर पाएको छु । उहाँहरूबाट देखे, सिके, बुझेका विविधआयामका केही हिस्सामात्र जीवनमा प्रयोग गर्न सकें भने यही नै एम.फिलको उपलब्धीमध्ये खास ठहरिने छ ।.हाम्रो जीवनमा प्राप्ति भनेका यिनै, यस्तै बिन्दु बिन्दुमा उपलब्ध हुने ससाना खुसीका प्रसङ्गहरू नै हुन् । यिनीहरूलाई उपेक्षा गरेर अघि बढ्दा समग्रमा हाम्रा हातमा शून्य मात्रै आइपर्ने हुन्छ । असन्तोष यतिमात्रै होस् र यस्तो होस्, त्यसले मान्छेलाई निरन्तर अघि बढाओस्, ध्वस्त नगरोस् । मान्छे यथास्थितिबाट माथि उठ्नुपर्छ र असन्तोषले त्यो पक्रियालाई सघाउनु, टेवादिनुपर्छ । क्षण क्षणमा प्राप्त हुने सुखका मसिना मसिना प्रसङ्गहरूमा हामी आनन्दित हुन सिकेनौ भने मान्छे कुण्ठाको पुञ्जमात्र बनेर रहने छ । संसार बस्नलायक ठाउँ रहने छैन । गोथेले भनेका छन् ः सुधार गर्नाले धरै उपब्धी बढ्छ । प्रोत्साहन दिनाले झन् धेरै उपलब्धी हात लाग्छ । असफलता पछिको प्रोत्साहन वर्षापछि घाम लाग्नु जस्तै हो । ‘बलेको आगोमा घिउ’ भनेझैं केही व्यक्तिहरूबाट निरासामा थप निरासा थपेको अनुभव पनि नभएको होइन तथापि बेलाबेमा बारम्बार हौसला दिइरहने गुरु र सहपाठीहरूप्रति निकै सम्मानभाव उर्लेर आउँछ । अझ विषेश गरेर ‘बाजाबजाएर’ थेगोको प्रयोग गर्दै उत्साह दिइरहने जीवन खनाल सरको हौसला दिने शैली एवम् ज्ञानको दायरा निकै अनुकरणीय छ र लाग्छ ‘जीवन खनालले नेपाल खुला विश्वविद्यालय पाएको होइन, विश्वविद्यालयले जीवन खनाल पाएको छ र यसैमा गौरव गर्नुपर्छ ।’ फ्रान लेबोविट्जले भनेका छन्ः महान् मानिसहरू योजना÷विचारका बारे कुरा गर्छन्, औसत मानिसहरू वस्तुका बारेमा कुरा गर्छन् र छोटा मानिसहरू रक्सीका बारेमा कुरा गर्छन् । सदैव शैक्षिक अध्ययन अुसन्धानका क्षेत्रमा विश्वमै प्रतिस्पर्धि बन्न कोसिस गर्नुपर्ने उहाँको आँट र हौसला साँच्चिकै तारिफ गर्न लायक छ ।
नेपाल खुला विश्वविद्यालयको भर्चुअल क्लासबाट विविध जीवनोपयोगी ज्ञान र सीप सिक्ने अवसर प्राप्त भएको छ । सामग्री कसरी खोज्ने, चाहिएका सामग्रीको पहिचान र व्यवस्थापन के कसरी गर्ने, बौद्धिक चोरी कसरी गर्ने, साइटेसन के कसरी गर्ने, सन्दर्भ सामग्री कसरी राख्ने, देशदुनियाँलाई के कसरी बुझ्ने, अध्ययनका क्रममा के कस्ता तरिका अपनाउने, सङ्घर्षलाई कसरी समायोजन गर्ने, एम.फिल अध्ययनको सान्दर्भिकता के हो, शिक्षक र विद्यार्थीका आधारभूत जिम्मेवारी के के हुन्, हाम्रो काँधमा के कस्ता जिम्मेवारी छन, अबको हाम्रो बाटो के हो, नेपालको प्राज्ञिक अनुसन्धानको स्थिति के कस्तो छ आदि यावत विषयमा सुरुचिपूर्ण तरिकाले जान्ने बुझ्ने अवसर प्राप्त भएको छ । विश्वका विभिन्न देशहरूमा केही समय पहिले देखि नै खुला विश्वविद्यालयको स्थापना भएको र विद्यार्थीको आकर्षण बढिरहेको सन्दर्भमा नेपालमा नेपाल सरकारको निर्णय बमोजिम एघारौं विश्वविद्यालयको रुपमा २०७३ सालमा नेपाल खुला विश्वविद्यालयको स्थापना भई २०७४ बाट पठनपाठन थालिएको हो । विविध कारणले उच्च शिक्षाको पहुँच प्राप्त गर्न असमर्थ भएका जनशक्तिलाई टेवा पु¥याउने प्रमुख उद्देश्य अनुरुप स्थापना भएको नेपाल खुला विश्वविद्यालयमा विज्ञ प्राध्यापकहरूबाट अनलाइन भर्चुअल क्लास दिइनुका साथै आधिकारिक पठन सामग्रीको वितरण, सूचनाको जानकारी, आवश्यक फिडब्याक, ई लाइब्रेरीको प्रयोग, लेक्चरर नोट, सलाइड, भिडियो लगायत हरसम्भव नयाँ नयाँ प्रविधिहरूको उपयोग गरेर प्रभावकारीरुपमा शिक्षण सिकाइका गतिविधि सञ्चान भइरेका छन् । हाल नेपाल खुला विश्वविद्यालयबाट शिक्षा तथा सामाजिक शास्त्र सङ्काय, व्यवस्थापन तथा कानुन सङ्काय एवम् स्वास्थ्य तथा प्रविधि सङ्काय अन्तर्गत स्नातक, स्नातकोत्तर र एम.फिल.तहका विभिन्न विषयका कक्षाहरू भइरहेका छन् भने विधावारिधि तहको योजना समेत रहेको छ । परम्परित विद्यालय र क्याम्पसमा गएर कक्षाकोठामा गरिने शिक्षाप्रणाली भन्दा नेपाल खुला विश्वविद्यालयबाट गरिने शिक्षण क्रियाकलापबाट जुससुकै स्थान ,समय, परिवेश, शारीरिक, मानसिक अवस्था, आर्थिक स्थिति, रुचि एवम् आवश्यकताअनुसार आधारभूत रुपमा सुचना तथा सञ्चार प्रविधिको प्रयोग गर्न सक्ने र आवश्यक सामग्रीको खोजी गरी विश्लेषण गर्न सक्ने जीवनोपयोगी क्षमताको विकास हुने भएकाले आजको सन्दर्भमा नेपाल खुला विश्वद्यिालयको शैक्षणिक गतिविधिलाई वरदानको रुपमा आत्मसात गर्न कुनै आइतबार पर्खनु नपर्ला कि ?

About Kesharman Bc

Social Media Auto Publish Powered By : XYZScripts.com