garima

१६० बिगाहामा लगाएको गरिमा धान फलेन

इन्द्रेणी संवाददाता

दाङ, २२ कार्तिक । सरकारले सूचीकृत गरेको गरिमा जातको धान नफल्दा दाङका ३०० भन्दा बढी किसान निराश भएका छन् । जिल्लाको उर्वर भूमि मानिने देउखरी क्षेत्रमा करीब १६० बिगाहामा लगाइएको उक्त जातको धानमा बाला नै नलागेपछि किसानहरू मर्कामा परेका हुन् ।

garimaलमही नगरपालिकाका २, ३, ४, ५, ६ र ९ नं वडाका किसानले यो जातको धानखेती गरेका थिए । ९० दिनमा दाना लागेर १२० दिनभित्र पाक्नुपर्ने गरिमा जातको धान रोपेको १४० दिन पुग्दा समेत नफलेको कृषि ज्ञान केन्द्र दाङले बताएको छ । विगत वर्षमा पनि यो जातको धान लगाउने गरेको तर यस वर्ष मात्र समस्या आएको केन्द्रका सूचना अधिकृत जीवनकुमार ओलीले बताए । ‘५ वर्षमा यस्तो समस्या पहिलोपटक आयो,’ उनले भने ।

धान रोपेको ५ महीना पुग्न लाग्दा समेत नपसाएपछि आपूmहरू चिन्तित भएको स्थानीय किसान छविलाल कोपिलाले गुनासो गरे । ‘धान लगाएको १४० दिन बित्तिसक्यो, अब त फल्ने आशा नै मारिसक्यौं,’ उनले भने । किसानले यसको क्षतिपूर्ति पाउनुपर्ने र आगामी वर्षमा यस्तो समस्या आउन नदिन बीउको चेकजाँच हुनुपर्ने उनले बताए ।

उचित क्षतिपूर्ति दिन माग गर्दै पीडित ३१९ किनानले कृषि ज्ञान केन्द्र दाङमा निवेदन दिएका छन् । जिल्लाका यी क्षेत्रमा सनराइज एग्रिकल्चर रिसर्च सेन्टरले भारतको बहराइजस्थित रिनोभा सीड साइन्स इन्डिया प्रालिबाट गरिमा धानको बीउ ल्याएर विक्रीवितरण गरेको थियो ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com