tamatar-kheti

एउटै वडाबाट ६ करोडको तरकारी विक्री

रुकुम, २० कार्तिक । रुकुम पश्चिमको एउटै वडाबाट वार्षिक ६ करोड रुपैयाँ बराबरको तरकारी विक्री हुने गरेको छ । जिल्लाको मुसीकोट नगरपालिका–१३ का काउलेचौर, सादनचौर र चौतारा गाउँबाट उक्त मूल्य बराबरको ताजा तरकारी निकासी हुने गरेको व्यापारीहरूले बताएका छन् । यस क्षेत्रका २५० घरपरिवार व्यावसायिक तरकारीखेतीमा लागेका छन् ।

tamatar-khetiकम लगानी र परिश्रमबाटै राम्रो आम्दानी हुने भएपछि आफूहरूले मकै, गहुँ, धान, कोदो लगायत अन्नबाली लगाउन छाडेर व्यावसायिक तरकारीखेती गरेको मुसीकोट–१३ काउलेचौरका प्रकाश खड्काले बताए । यहाँका किसानले वार्षिक औसत २ लाख ५० हजार रुपैयाँ बराबरको तरकारी बेच्ने गरेको उनको भनाइ छ । आफूले मलेशियाको रोजगारीबाट फर्केपछि ५ रोपनी जग्गामा तरकारीखेती थालेको उनले सुनाए । ‘परिश्रम र उत्पादन अनुसारको मूल्य पाएका छौं,’ उनले भने ।

अहिले यस क्षेत्रका कृषयोग्य जग्गा काउली, बन्दा, टमाटर, सिमी, खुर्सानी, फर्सी, आलु लगायत बेमौसमी तरकारीले ढाकिएका छन् । उत्पादित तरकारी विक्रीबाट भएको आम्दानीले स्थानीयवासीको जीवनस्तर नै फेरिएको किसान गोपाल केसीले बताए । ‘कोदो, मकै, रोप्दा बीउको खर्च उठाउनै हम्मे हम्मे पर्थ्यो,’ उनले भने, ‘तरकारीखेती गर्न थालेपछि अन्नबालीबाट भन्दा तेब्बर आम्दानी हुन थालेको छ ।’

यस क्षेत्रमा उत्पादित तरकारी जिल्ला सदरमुकाम खलंगाका साथै व्यापारिक केन्द्रहरू राउखेत, झुल्नेटा, सोलावाङ, रुकुमकोट, गारघाट, राडीबजार लगायतसम्म निकासी हुने गरेको छ । गाउँ–गाउँसम्म सडक पुगेपछि तरकारी लगायत कृषिउपजको बजारीकरणमा सहज भएको किसान छविलाल खड्काले बताए । ‘तरकारी लिन गाउँमै व्यापारीहरू आउने गरेका छन्,’ उनले भने, ‘बजारको समस्या छैन ।’ अभियान दैनिकबाट

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com