sabha hal (1)

३० करोड लागतमा निर्माणाधिन सभागृहको काम ७५% सकियो

उदय बीसी
दाङ, २० कार्तिक । दाङ जिल्ला उद्योग वाणिज्य संघको पहलमा निर्माणाधिन बहुउद्देशीय सभागृहको भौतिक निर्माणको काम अन्तिम चरणमा पुगेको छ । झण्डै रू. ३० करोडको लागतमा घोराही उपमहानगरपालिका वडा नम्बर १४ पुरानो वसपार्क नजिकै निर्माण भइरहेको सभागृहको काम अन्तिम चरणमा पुगेको हो ।

sabha hal (1)२०७४ कार्तिकमा निर्माण कार्य शुरु भएको चार तले सभागृहको भौतिक पूर्वाधार निर्माणको काम अहिलेसम्म करीव ७५ प्रतिशत सम्पन्न भइसकेको दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसालले बताए । ‘भवन निर्माणको काम करीव अन्तिम चरणमा पुगेको छ’, उनले भने, ‘अब भवनको फिनिसिङको काम मात्रै बाँकी रहेको निर्माण कम्पनीले हामीलाई रिपोटिङ गरेको छ ।’

सरकारको रू. २६ करोड ७७ लाख र अन्य क्षेत्रको करीव सवा ३ करोड गरी रू. ३० करोडको लागतमा निर्माण भइरहेको सभागृहको जिम्मा वंगलामुखी गौरी पार्वती निर्माण सेवा काठमाडौंले लिएको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा निर्माणको काम सम्पन्न गर्नुपर्नेछ । सम्झौता अनुसार तोकिएको समयमा फिनिसिङको काम वाहेक अन्य सबै काम सम्पन्न हुने निर्माण कम्पनीले बताएको छ ।

नगरविकास समितिले दाङ जिल्ला उद्योग वाणिज्य संघलाई प्रदान गरेको १२ कट्ठा ७ घुर जग्गामा निर्माण भइरहेको उक्त सभागृह चार तलाको छ भने त्यसमा ८०० भन्दा बढीको संख्यामा मानिस अट्ने क्षमताको एउटा भिआइपी सभाहल छ भने अर्काे एउटा सामान्य हल छ । त्यस्तै सभागहृका लागि आवश्यक कोठाहरु र ३० वटा भन्दा बढी शौचालय रहेका छन् । यो सभागृह पश्चिम नेपालकै ठूलो परियोजना भएको अध्यक्ष भुसालले बताए ।

‘राज्यको लगानीमा यस्तो सुविधासम्पन्न सभागहृ पश्चिम नेपालमै पहिलो हो’, अध्यक्ष भुसालले भने । सभागृह निर्माणका लागि संघले २०६८ सालदेखि पहल गर्दै त्यसका लागि २०६९ मा घोराहीमा महोत्सव समेत लगाएको थियो । महोत्सवबाट रू. ५२ लाख सभागृहलाई छुट्याएको थियो ।

सभागृह निर्माण भएपछि राष्ट्रिय स्तरका कार्यक्रमहरु दाङमा गर्न सकिने र यसले यहाँको पर्यटन विकाससँगै आर्थिक संमृद्धि गर्न टेवा पुग्ने अध्यक्ष भुसालको भनाइ छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com