petrol

पेट्रोलपम्प नहुँदा घरघरै जर्किनमा पेट्रोल

बाँके, ९ असोज । बाँकेको नरैनापुर गाउँपालिकामा एउटा पनि व्यवस्थित पेट्रोलपम्प छैन । तर, यहाँका घरैपिच्छे पेट्रोल खरीद विक्री हुन्छ । घरघरै जर्किनमा पेट्रोल राख्ने प्रचलन रहिआएको छ ।

petrolयसले कारोबार र आम्दानी त राम्रै भएको छ । तर, यहाँका प्रत्येक घर असुरक्षित बन्दै गइरहेका छन् । भर्खरै सडक विस्तार भएपछि यातायातका साधन बाक्लिँदै गएको नरैनापुर अहिले पनि बाँकेका अन्य स्थानीय तहको तुलनामा दुर्गम मानिदै आएको छ ।

यहाँ विकासका पूर्वाधार छैनन् । हुलाकी सडक भर्खरै जोडिँदै छ । विद्युत् पुगेको छैन । केही वडामा सोलार जडान गरिएको छ । सडक सञ्जालले जोडिएपछि यहाँ यातायात साधन बढेका छन् ।

गाउँपालिकामै व्यवस्थित पेट्रोलपम्प छैन । गाउँमा सवारी साधन बढेसँगै तेलको माग हुन थालेपछि नरैनापुर–२ का ६३ वर्षे जेब्रिल खाँले पाँच वर्षदेखि घरमै पेट्रोल बेच्दै आएका छन् ।तर, उनी आफैं सुरक्षित महसुस भने गर्न नसकेको बताउँछन् । ‘पेट्रोल राखिएको नजिकै ओछ्यान लगाएर सुत्छु’, उनले भने, ‘प्रायः त यहाँ पेट्रोल चोरी हुने गर्छ ।’

नरैनापुर–२ का ४० वर्षीय श्रीस बाबाले दुई वर्षदेखि पेट्रोल बेच्दै आएका छन् । एक लिटर पेट्रोलमा रू।१० देखि २० सम्म नाफा देखेपछि यहाँका अधिकांश गाउँले पेट्रोल विक्रीमा संलग्न भइरहेका छन् ।

यहाँ दैनिक १० देखि २० लिटर पेट्रोल विक्री हुँदै आएको कारोबारमा संलग्नहरुको भनाइ छ । ‘आगोबाट जोगाउनु मुख्य चुनौती छ’, बाबाले भने, ‘ठूलै पम्प खोलेर व्यवस्थितरूपमा व्यापार गर्न लगानी छैन ।’

खुलेआम पेट्रोल बेच्नु सिंगो गाउँ नै असुरक्षित हुनु हो । यस्तो अवस्थामा स्थानीय तह बढी सचेत हुनुपर्ने देखिएको छ । खुला पेट्रोल व्यापारले सबैभन्दा बढी खतरा आगलागीको हुने नेपाल आयल निगम बाँकेका प्रमुख नवविनोद पोखरेलले बताए ।

उनका अनुसार गुणस्तरीय पेट्रोल नपाउनु, मात्रामा घटी हुनुले ग्राहक ठगिने सम्भावना पनि उत्तिकै बढी हुन्छ । स्थानीय तह, प्रहरी प्रशासन र निगमले यस विषयमा जनचेतना फैलाउनु जरुरी रहेको उनको भनाइ छ । रासस

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com