Irish Speaker 4

सभामुख महरा र समकक्षी आइरिस सभामुख सेनबीच भेटवार्ता

काठमाडौं, २३ भदौ । सभामुख कृष्णबहादुर महरा र आयरल्याण्डस्थित आइरिस पार्लियामेन्टका सभामुख सेन ओ फेरगेलबीच द्विपक्षीय भेटवार्ता भएको छ ।

Irish Speaker 4सभामुख महराको निमन्त्रणामा नेपाल भ्रमणमा रहनुभएका समकक्षी आइरिस सभामुख सेनसँग आज सभामुखको कार्यालय सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको हो ।

भेटवार्तामा दुई देशबीचको सम्बन्धका बारेमा चर्चा गर्नुका साथै संसदीय प्रक्रिया र अभ्यास, संसदीय मैत्री समूह गठन, शिक्षा, पर्यटन, व्यापार लगायतका विषयमा छलफल भएको थियो ।

सो अवसरमा सभामुख महराले नेपाल र आयरल्याण्डको दुई पक्षीय सम्बन्ध एक सय वर्षभन्दा पुरानो रहेको चर्चा गर्नुहुँदै दुई देशबीचको सम्बन्ध थप सुमधुर र घनिष्ठ बनाउन सभामुख नेतृत्वको प्रतिनिधि मण्डलकोे नेपाल भ्रमणले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए ।
नेपालको संघीय शासन प्रणाली, संघीय संसद र संसदीय अभ्यासका बारेमा जानकारी गराउनुहुँदै सभामुख महराले नेपालमा नयाँ संविधान निर्माणपछि संसदले विभिन्न ऐन कानून निर्माणमा मुख्य जोड दिएको बताए ।

‘नेपालको संघीय संसद सबै वर्ग, लिङ्ग, समुदाय र क्षेत्रको प्रतिनिधित्व हुने गरी समावेशी रहेको छ, सभामुख महराले भने, ‘देशका सबै जनसमुदायको समुचित प्रतिनिधित्वका लागि प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणाली अपनाएर जनप्रतिनिधिहरु चयन भएका छन्, त्यस्तो व्यवस्था हामीले संविधानमै सुनिश्चित गरेका छौं ।’

नेपालको पर्यटन प्रवद्र्धनका लागि सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा घोषणा गरेको बताउनुहुँदै सभामुख महराले नेपाल भ्रमणका लागि आयरल्याण्डका पर्यटकहरुका लागि नेपाललाई पनि एक गन्तव्यका रुपमा बनाउन पहल गरिदिन पनि समकक्षी सेनसँग अनुरोध गरे ।

भेटवार्तामा आइरिस सभामुख सेनसहित भ्रमण टोलीका सदस्यहरु आइरिस पार्लियामेन्टका सांसदहरु मौरिन सुल्लिभान, क्याथरिन नून, जोड हमिल्टन लगायतको सहभागिता रहेको थियो भने नेपाली टोलीको तर्फबाट सभामुखका साथै नेपाल–आयरल्याण्ड संसदीय मैत्री समूहका संयोजक सांसद राधा ज्ञवाली, संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराई, प्रतिनिधि सभाका सचिव गोपालनाथ योगी, सचिवालय सचिव भरतराज गौतमलगायतको सहभागिता रहेको थियो ।

About indreni Newsdesk