ritu khanal

प्रेम र प्रकृति

रितु खनाल

चाँदीझैँ हिमटाकुरा हरघडी टल्की रहे टल्टल
छुट्टै प्रीत बढाउने हृदयमा आनन्दले शीतल
फोर्दै खाेंच रमेर भू प्रकृतिमा गङ्गा बहिन् सल्सल
उर्ली छाल बढेर रङ्ग तन यो सारै हुने चञ्चल ।।

छ्याै अग्ली गिरि ए ! परी गगनकाे च्यूँडाे समातेसरि
पर्दा सम्मुखमा भएँ रस पिई आफैं म मातेसरि
गुञ्जी गीत सुहाग साथ लतिका हाँसीखुशी बेसरी
हाँगा पात झुकेर दिव्य छहरा छुट्टै छ हेर्दा छवि ।।

ए पाखा ! हरिया लपेट फरिया ऐरावती सुन्दरी
देख्दा सुन्दरता म गल्छु मनले प्रेमी गलेको सरि
छर्दै बैंस गुराँस झुल्छ वनमा बन्दै नयाँ बेहुली
मायाँको हिम झैँ अहो! प्रकृतिको कस्तो मजाका चुली ।।

धर्ती खुल्छ अनन्त सौरभ छरी माया भरी बेसरी
फुल्छन् फूल सुवास मग्न रसका आलोक छर्छन् रवि
डुल्दैछन् भमरा घुमेर वनमा हावा डुलेझैँ गरी
हाँसेको पुतली समान म बनूँ ! प्रेमी बनेकी परी ।।

चल्ने वायुसँगै छ रङ्ग रसिलो खेल्ने मजा यौवन
इन्द्रेणीसँगको छ प्यार मनको गर्दा मिठो चुम्बन
झाडी, शैल र फाँट मस्त झरना सङ्गीत छुट्टै भरी
नाची छम्छम हाँस्छ याे प्रकृति नै आभा उज्यालाे छरी ।।

About Kesharman Bc

Social Media Auto Publish Powered By : XYZScripts.com