Rahul_Mahara

संगठनको एकता प्रक्रिया छिट्टै टुङ्गिन्छ : महरा

१. नेपालका दुई ठूला कम्युनिष्ट पार्टी एकता भएपछि पार्टीका मेरुदण्ड जस्तै मानिएका वाइसिएल र युवासंघको एकताको बाँकी काम कहिले टुङ्गिन्छ ? किन यति लामो समय लाग्यो ?
पार्टी एकतापछि दुबै पार्टीका भातृसंगठनहरुको एकताको टुङ्गो जति छिटो हुनुपर्ने थियो त्यो नभएकै हो । जसमा दुई युवा संगठनबीचको एकताको सन्दर्भमा यो बीचमा वाइसिएल र युवासंघको नेतृत्चबीच धेरै चरणमा छलफलहरु भएका छन् । एकतालाई मूर्तरुप दिन संयुक्त कार्यदल पनि बनेको थियो । कार्यदलले धेरै हदसम्म काम सम्पन्न गरेको पनि थियो । समयावधिमै मूर्तरुप लिन सकेन । मुख्यरुपमा संगठनको नेतृत्व, नाम, झण्डा, संगठनको संरचना आदि विषयमा छलफल केन्द्रित थियो । तर अहिले संगठनको नेतृत्व र केन्द्रीय कमिटीको संख्याको टुङ्गो लागिसकेको छ । अब छिटै एकताका बाँकी काम टुङ्गिन्छ ।

२. समग्र पार्टी एकतालाई कसरी हेर्नु भएको छ ? 
निश्चित रुपमा पनि दुई ठूला कम्युनिष्ट पार्टीको एकता अहिलेको आवश्यकता थियो । राष्ट्रिय हित, राजनीतिक स्थायित्व, शान्ति र सुशासन, समाजवाद उन्मुख आर्थिक रुपान्तरणबाट देशलाई समृद्धिमा पुराउन कम्युनिष्ट एकता आवश्यक थियो । एउटा वीरतापूर्ण जनयुद्धको इतिहास बोकेको र अर्काे संसदीय अभ्यासबाट आएको २ ठूला कम्युनिष्ट पार्टी एकताले आम कार्यकर्ता पंत्तिमा उत्साह जन्माएको छ । दुई कम्युनिष्ट मात्र होइन, छरिएका साना सबै वामपन्थी शक्तिहरु समेत गोलबन्द हुनु अहिलेको आवश्यकता हो ।

३. अब बन्ने संगठनको नाम के रहन्छ त ?
केही दिन अगाडि मात्र संयुक्त कार्यदलले संगठनको अन्तरिम विधान टुङ्ग्याएको छ । संगठनको नामको विषयमा छलफल चलिरहेको छ । वाइसिएल र युवासंघ बाहेक नयाँ नाममा छलफल केन्द्रित छ । नामको विषय पनि छिटै टुङ्गिन्छ ।

४. नामकै विषमा किन यति धेरै विवाद ?
विवाद भन्दा पनि यो स्वभाविकै हो । दुई ठूला संगठनको बीचमा एकता सहजै हुने कुरा होइन । दुई संगठनका आआफ्नै इतिहास छन् । संगठनको संरचना छ । आफ्ना मान्यताहरु छन् । त्यसकारण छलफलले केही समय लिएको पक्कै हो । नामको विषयका छलफल जारी छ । हामीले ‘राष्ट्रिय युवा संगठन’ नाम अगाडि सारेका छौ । आवश्यक परे पार्टी नेतृत्वसँग पनि छलफल गरी टुङ्गो लगाउँछौ ।

५. त्यसो भए संगठनको सम्पूर्ण एकता कहिलेसम्म टुङ्गो लाग्छ ?
संगठनको नेतृत्व (संयोजक र सहसंयोजक) र केन्द्रीय कमिटीको संख्याको टुङ्गो लागिसकेको छ । संयुक्त कार्यदलले अन्तरिम विधान बुझाइसकेको छ । मुख्य विषय टुङ्गिसकेको हुनाले अब संगठनको नाम, झण्डा, केन्द्रीय कमिटीको आन्तरिक तयारीहरु छन् । यो एकताको सम्पूर्ण प्रक्रिया हप्ता÷दश दिनभित्रमा टुङ्गिन्छ ।

६. संगठनको एकतापछि संगठनको संरचना र पदहरु के कस्ता रहन्छन् ? 
संगठनको संयोजक र सहसंयोजक, केन्द्रीय कमिटीको संख्याको विषय यसअघि नै घोषणा भइसकेको छ । सम्भवतः आवश्यकताको आधारमा सानो पदाधिकारी अथवा सचिवालय बन्नेछ र केही महत्वपूर्ण विभाग र आयोगहरु बनाइने छन् । यी सबै छलफलबाट टुङ्गिने विषय हुन् ।

७. देशमा दुई तिहाईको मत लिएर शासन गरिरहेको नेकपा सरकारले खासै जनअपेक्षाअनुसार काम गर्न सकेन भन्ने जनगुनासो छ नि ?
सरकारप्रति जनताको अपेक्षा ठूलो छ । देश संघीयताको पहिलो अभ्यासमा छ । संघीयता कार्यान्वयनमा कहीं जटीलताहरु छन् । ऐनकानुन, नियम कार्यान्वयनको प्रक्रियामा छन् । फेरि पनि  अपेक्षाअनुसार काम नभएको पक्कै होइन । सरकारले यो बीचमा केही महत्वपूर्ण कामको सुरुवात गरेको छ । यातायात क्षेत्रको सिण्डिकेट अन्त्य भएको छ । लोडसेडिङ पूर्णरुपमा अन्त्य भएको छ । ऊर्जामा आत्मनिर्भर हुने कामको सुरुवात भएको छ । सामाजिक सुरक्षा भत्ता सुरु भएको छ । राम्रो शिक्षानीति सुरु भएको छ । सडक, रेलका पूर्वाधार निर्माणमा काम अगाडि बढेका छन् । चीनसँग व्यापार पारवहन सम्झौता भई नेपालले विभिन्न ७ वटा बन्दरगाहा प्रयोग गर्न पाउने सम्झौता अर्को महत्वपूर्ण कुरा हो । यावत विषयमा सरकारले गरेको महत्वपूर्ण कामहरु नै हुन् । फेरि पनि कम्युनिष्ट सरकारले जनस्तरमा प्रत्यक्ष प्रभाव पर्ने खालको काम गर्न अझै आवश्यक छ । जनताले सरकारलाई ऐतिहासिक अवसर दिएका छन् । यो अवसरलाई पूर्णरुपमा सदुपयोग गर्न सक्नुपर्दछ ।

About Kesharman Bc