narulala

नगर प्रमुख चौधरीले भने -” नतिजा देखिने गरी खट्नुस”

घोराही, ६ बैशाख । नयाँ शैक्षिक सत्रको सुरुवात सँगै घोराही उपमहानगरपालिकाले शिक्षाको सुधारका लागि प्रधानाध्यापकहरुलाई जिम्मेवारी नजितामा देखाउने गरी खट्न निर्देशन दिएको छ ।

नगरको शिक्षा, युवा तथा खेलकुद महाशाखाको तालिका अनुसार शैक्षिक सत्रको पहिलो प्रधानाध्यापकहरुको बैठकमा उपमहानगरले शिक्षामा गुणस्तर र नतिजामा सन्देश दिने परिणाम देखाउन निर्देशन दिएको हो ।

सामाजिक विकास समितिका संयोजक भरतमणि आर्यालको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरीले जिम्मेवारी अनुसार भुमिका निभाउन प्रधानाध्यापकहरुलाई निर्देशन दिनुभयो ।

सामुदायिक विद्यालयको शिक्षामा प्रश्न उठ्ने क्रम नरोकिएको भन्दै उहाँले गुनासो रहित शिक्षण सिकाई बनाउन सुझाब दिनुभयो । घोकाएर भन्दा बुझाएर पढाउन आग्रह गर्दै नगर प्रमुख चौधरीले विद्यार्थी कमजोर हुनुमा दोषारोपण नगरी सरकार, अभिभाबक, शिक्षक र विद्यार्थी लाग्नुको विकल्प नरहेको समेत उल्लेख गर्नुभयो ।

शिक्षकहरु नै समाजका बौद्धिक व्यक्तिहरु भएको भन्दै उहाँले विद्यार्थीको सिकाई र बुझाईमा त्यसको छाप अनिबार्य पर्नुपर्ने बताउनुभयो । कक्षा ८ को नतिजाले सबैलाई चिन्तित बनाएको भन्दै अब शैक्षिक सुधारका लागि लगानी सँगै निगरानी बढाईने उल्लेख गर्नुभयो ।

कार्यक्रममा शिक्षा महाशाखाका शाखा अधिकृत नारायणप्रसाद पौडेलले आफ्नो जिम्मेवारीलाई सहि ढंगले बुझन र व्यवहारमा लागु गर्न प्रधानाध्यापकहरुलाई आग्रह गर्नुभयो । बार्षिक कार्य योजना र पाठ योजना बनाएर मात्रै पढाउन शिक्षकहरुलाई निर्देशन प्रधानाध्यापकले दिनुपर्ने भन्दै एक शिक्षक एक निरन्तर मूल्यांकनलाई प्रभावकारी बनाउन सुझाब दिनुभयो ।

कार्यक्रममा बोल्ने प्रधानाध्यापकहरुले विद्यालय सुधार योजनाका लागि बजेटको व्यवस्था गर्न माग गरेका छन् । विद्यालयले पाउने सेवा, सुविधा र निकासालाई समयमै तथा एकै पटक गर्न तर्फ महाशाखाको ध्यानआकर्षण गराएका छन् ।

उपमहानगरको शिक्षा महाशाखाले शैक्षिक सुधारका लागि प्रत्येक तीन महिनामा प्रधानाध्यापकहरुको बैठकमा छलफल, समिक्षा र सुधारका योजनाहरु प्रस्तुत गर्ने गरी खाका तयार पारेको छ । कार्यक्रमको सहजिकरण महाशाखाका नायब सुब्बा बिपना बर्तौलाले गर्नुभएको थियो ।।

About Kesharman Bc