Air-attacke

पाकिस्तानीमा भारतको हवाई आक्रमण, जवाफ दिने पाकिस्तानको चेतावनी

इस्लामाबाद, (एजेन्सी)।भारतीय वायु सेनाले पाकिस्तानी सीमा क्षेत्रभित्र पसेर हवाई हमला गरेको छ । भारतले पाकिस्तानसँगको सीमा क्षेत्र उल्लंघन गरी हवाई हमला गरेको स्वीकार गरेको छ ।

Air-attackeउसले भारतमाथि पाकिस्तानमा क्रियाशील जैस–ए–मोहम्मद समूहले आक्रमणको तयारी गरिरहेको गुप्तचरको रिपोर्टका आधारमा आत्मरक्षाका लागि सो समूहको तालिम केन्द्रलाई लक्षित गरी हमला गरेको दाबी गरेको छ ।

भारतले पाकिस्तानी सीमा क्षेत्रभित्र हमला गरेपछि पुनः भारत र पाकिस्तानबीच तनाव अझै बढेको छ । गत १४ फेब्रुअरीमा भारत प्रशासित कश्मिरको पुलवामामा कारबम हमला हुँदा ४० भन्दा बढी भारतीय सीआरपीएफ जवानको मृत्यु भएपछि भारत पाकिस्तानमाथि आक्रामक बनेको हो ।

पाकिस्तानले यो आक्रमणले भारतले पाकिस्तान सीमाको उल्लंघन गरेको उल्लेख गर्दै यसको जवाफ दिने चेतावनी दिएको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले जस्तोसुकै अवस्था आए पनि त्यसको सामना गर्न तयार रहन सबैलाई आग्रह गरेका छन् । यद्यपि पाकिस्तानी अधिकारीले भारतीय वायु सेनाले पाकिस्तानी भूमिमा बर्साएका बम खाली क्षेत्रमा खसेको र त्यसबाट कुनै मानवीय क्षति भने नभएको उल्लेख गरेको छ ।

भारतीय लडाकु विमान मिराजले भारत पाकिस्तानबीचको नियन्त्रण रेखानजिकै पाकिस्तानको खैबर पख्तन्ख्वाह प्राप्तमा रहेको बालाकोटमा जैस–ए–मोहम्मदको तालिम केन्द्रलाई लक्षित गरी हमला गरेको बताइएको छ । आक्रमण भएको क्षेत्र पाकिस्तान प्रशासित कश्मिरमा नभएर पाकिस्तानी सीमा क्षेत्रभित्र खैबर पख्तनख्वाह प्रान्तको मानसेरा जिल्लामा रहेको बालाकोटमा हो ।

भारतीय विदेश मन्त्रालयका तर्फबाट जारी गरिएको आधिकारिक वक्तव्यमा भनिएको छ, ‘यो कारबाहीमा ठूलो संख्यामा जैस–ए–मोहम्मदका आतंकवादी, तालिम लिइरहेका, वरिष्ठ कमान्डर र जिहादी समूहका कार्यकर्ता मारिएका छन् । उनीहरूले भारतमाथि हमला गर्ने तयारी गरिरहेका थिए । बालाकोटको अड्डा मौलाना युसुफ अजहरले चलाइरहेका थिए, जसलाई उस्ताद गौरीको नामबाट पनि चिनिन्छ ।’

पाकिस्तानी सेनाका प्रवक्ताले मंगलबार ट्विट गर्दै भारतीय लडाकु विमानले नियन्त्रण रेखा पार गरेर मुजफरबाद सेक्टरमा हमला गरेको र पाकिस्तानले त्यसको प्रतिवाद गरेपछि भारतीय लडाकु विमान बम खसालेर भागेको उल्लेख गरेका छन् ।

कसैको मृत्यु भएको छैन : जैस–ए–मोहम्मद
भारतले पाकिस्तान प्रशासित कश्मिरमा रहेको जैस–ए–मोहम्मदका अड्डा ध्वस्त पारेको र केही आतंकवादी कमान्डर मारिएको दाबी गरे पनि त्यसको खण्डन भएको छ । यद्यपि भारतीय विमानले नियन्त्रण रेखा पार गरेको सूचना सबैभन्दा पहिले पाकिस्तानले दिएको थियो ।
तर, जैस–ए–मोहम्मद सूत्रले बालाकोटमा भारतीय मिराज लडाकु विमान हमलाका समयमा युसुफ अजहर त्यहाँ नरहेको बताइएको छ । युसुफ अजहर जैस–ए–मोहम्मदका संस्थापक मौलाना मसुद अजहरका सालो हुन् ।

आक्रमणको जवाफ दिन्छौं : कुरैसी

पाकिस्तानी विदेशमन्त्री शाह महमुद कुरैसीले भारतले पाकिस्तानी भूमिमा आक्रमण गरेर पाकिस्तानको सम्प्रभुताको उल्लंघन गरेको बताउँदै त्यसको उचित जवाफ दिइने बताएका छन् । आफ्नो वायुसेनाका विमानहरूले बम हानेर पाकिस्तानमा रहेको लडाकु समूह जैस–ए–मोहम्मदको शिविर ध्वस्त पारिएको दाबी भारतीय पक्षले गरिरहँदा पाकिस्तानी सेनाले भारतीय विमानलाई लखेटिएको बताएको छ ।
मंगलबार बिहान भएको सो हमलापछि पाकिस्तानको सुरक्षा परिषद्को आपतकालीन बैठक बसेको छ । प्रधानमन्त्री इमरान खानको अध्यक्षतामा बसेको बैठकले जैस–ए–मोहम्मद समूहलाई लक्षित गरी हमला गरेको भारतीय दाबीलाई खण्डन गरेको छ ।

बैठकपछि भनिएको छ, ‘बालाकोटनजिक रहेको कथित आतंकवादी शिविर नष्ट पारिएको र ठूलो मानवीय क्षति भएको भारतीय दाबीको हामी खण्डन गर्छौं ।’ पाकिस्तानले स्थानीय र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका पत्रकारलाई सो स्थानमा लैजान थालेको छ । बैठकपछि विदेशमन्त्री कुरैसीले भने, ‘एकचोटि फेरि भारत सरकारले आफ्नो उद्देश्य पूरा गर्न आधारहीन र मनगढन्ते दाबी गरेको छ । यो उनीहरूको आफ्नो घरेलु आवश्यकता पूरा गर्न गरिएको हो किनभने त्यहाँ निर्वाचनको वातावरण छ र त्यसका लागि क्षेत्रीय सुरक्षा र स्थिरतालाई गम्भीर खतरामा पारिदिए ।’ नयाँ पत्रिकाबाट

About indreni Newsdesk