Clipboard

मौसम हेरेर पढ्छन् विद्यार्थी……..

भक्तबहादुर शाही
नेपालगञ्ज, ९ फागुन। बाँकेको जानकी गाउँपालिका–३ स्थित नेपाल राष्ट्रिय प्राथमिक आधारभूत विद्यालयका विद्यार्थी घरबाट निस्कँदा निकै खुशी देखिन्छन्, तर उनीहरूको यो खुशी धेरै बेर टिक्न पाउँदैन । बिहानको प्रार्थना सकिने बित्तिकै उनीहरूको ध्यान पढाइतिर होइन, आकाशतिर हुन्छ । आकाशमा छैन भने उनीहरू केही ढुक्क देखिन्छन् ।

Clipboardखुला चौरमै पढ्नुपर्ने बाध्यताले विद्यार्थी आफै मौसमको अनुमान गर्छन् । घाम लागेको दिन उनीहरू चौरमा यत्रतत्र बसेर पढ्छन् । बादल लाग्ने बित्तिकै घर फर्किन्छन् । विद्यार्थीको यस्तो दिनचर्या हुन थालेको ४ महीना बितिसकेको छ । विद्यालयको भवन छ, छाना छैन । कक्षाकोठा छन्, बेञ्च छैन । भत्किएको भवनका सबै सामग्री एउटै कोठामा थन्क्याइएका छन् । यसरी पनि विद्यार्थीको पढाइ भइरहेको छ । तर उनीहरूको दैनिक पढाइको निर्णय विद्यालय प्रशासनले होइन, मौसमले गर्दै आएको छ ।

२०१७ सालमा स्थापित यस विद्यालयका अधिकांश बालबालिका मधेशी र मुस्लिम समुदायका छन् । २ सय १ विद्यार्थी रहेको उक्त विद्यालयका भवन दुईओटा छन् । सडक विस्तारको क्रममा एक भवन भत्काइएपछि विद्यार्थीले यो समस्या भोग्नुपरेको छ । समयमै भवन नबन्दा उनीहरू भग्नावशेष हेर्दै खुला चौरमा पढेर भविष्यको भाग्यरेखा कोर्दै छन् ।

६ कोठे विद्यालय भवनका चार कोठा भत्काइएका छन् । बचेका दुई कोठा पनि चुहिने र जीर्ण छन् । भवन भत्काउँदा विद्यालयका कागजात सुरक्षित राख्ने ठाउँको अभाव छ । अध्यापनका लागि अनिवार्य सामग्री छैनन् । विद्यालयमा शैक्षिक सामग्री नहुँदा मौखिक रूपमा पढाउनुको विकल्प नभएको विद्यालयकी प्रधानाध्यापक सरस्वती शर्माले बताइन् ।

कक्षा १ देखि ५ पढाइ हुने विद्यालयमा पाँच शिक्षकमध्ये चार महिला छन् । सडक फराकिलो बनाउने नाममा विद्यालय भवन भत्काइएपछि विद्यार्थी मर्कामा परेको स्थानीयको गुनासो छ । ‘सडक विस्तारको क्रममा विद्यालयको ५ मिटर जग्गा छाड्नु परेपछि यो अवस्था आयो,’ प्रअ शर्माले भनिन्, ‘विद्यालय भवन वैकल्पिक व्यवस्था नगरी भत्काइयो । अहिले बालबालिकालाई निकै सास्ती भएको छ ।’

अहिले विद्यार्थीलाई जेनतेन पढाइए पनि गर्मीमा कसरी पढाउने भन्ने चिन्ता लाग्न थालेको प्रअ शर्माले बताइन् । भवन नहुँदा नयाँ शैक्षिक सत्रदेखि विद्यालयमा विद्यार्थी भर्ना गर्न समस्या हुने समेत उनको भनाइ छ ।

वडा कार्यालय र गाउँपालिका विद्यार्थीको पढाइप्रति गम्भीर नहुँदा नियमित पठनपाठनमा कठिनाइ भएको भएको प्रधानाध्यापक शर्माले आरोप लगाइन् । ‘भवन भत्काएको ४ महीना बितिसक्यो,’ उनले भनिन्, ‘विद्यालय व्यवस्थापन समिति, विद्यालयका स्रोतव्यक्ति र विद्यालय निरीक्षकसँग वैकल्पिक व्यवस्था गर्न पटक पटक आग्रह गर्दा समेत सुनुवाइ भएन ।’ विद्यार्थीलाई घाम र पानीबाट बचाउन त्रिपालको व्यवस्था गरिने वडा नं ३ का वडाध्यक्ष विन्देश्वरी कुर्मी वर्माको भनाइ छ । अभियान दैनिकबाट

About indreni Newsdesk