कृतिम जलाशयलाई सुरक्षित बनाउ

सम्पादकीय

दाङको घोराही उपमहानगरपालिकाले उपमहानगरभित्र एक वडा एक जलाशयको अवधारणा अघि सारेको छ । यो सँगै केही स्थानमा जलाशय समेत निर्माण भइसकेका छन् । त्यस क्षेत्रको कृषि क्षेत्रलाई सहयोग गर्न र पर्यावरर्णीय सुन्दरताका लागि पनि जलाशय निर्माण गर्नु राम्रो हो । यी जलाशयबाट धेरैका खेतबारेमा सिंचाइको सुविधा पुगेको छ । कुनै समयमा वाँझै देखिने करेसावारीमा लटरम्म तरकारी फलेका छन् भने जलाशयमा संकलन भएको पानीका कारण वरपरका पानीका स्रोत पनि सुक्न पाएका छैनन् । अझ भन्दा कृतिम जलाशयले त्यस क्षेत्रको पर्यटकीय क्षेत्रको समेत काम गरेको पाइन्छ ।

उपमहानगरपालिकाले विकास गर्नु उपमहानगरवासीका लागि गौरवको विषय हो । तर कृतिम जलाशयबाट केही मानवीय क्षति पनि भएको छ । भरखरै मात्र घोराही उपमहानगरपालिका १७ गुलरियामा रहेको कृतिम जलाशयमा पौडी खेल्न गएको घोराही १५ का युवा लक्ष्मण डिसीको डुवेर ज्यान गएको छ । डिसी मात्रै होइन विभिन्न स्थानमा निर्माण भएका कृतिम जलाशयमा यसै वर्ष मात्रै डुवेर तीन जनाको ज्यान गइसकेको छ भने अहिलेसम्म कृतिम जलाशयमा मात्रै डुवेर ७ जनाले ज्यान गुमाइ सकेका छन् । यो सबैका लागि अत्यन्त दुखदको विषय हो ।

उपमहानगरपालिकाले उपमहानगरवासीकै लागि जलाशय निर्माण त ग¥यो तर त्यो कति सुरक्षित छ भन्ने कुरामा खासै ध्यान दिएको पाइदैन । हुनत सरक्षाको विषयलाई उपमहानगरपालिकाले मात्रै हेर्ने र चासो दिने विषय होइन । तर पनि उपमहानगरकै स्वामित्वमा ती कृतिम तालहरु निर्माण गरिएकाले यसमा ध्यान दिनु पहिलो प्राथमिकता उपमहानगरपालिकाकै हो । ती निर्माण भइसकेका जलाशय र अब निर्माण हुने जलाशयलाई सुरक्षित बनाउनका लागि अब उपमहानगरपालिकाले जलाशय वरिपरी तारबार गर्नु पर्ने र त्यहा सचेतना र खतराका वोर्डहरु राख्न जरुरी देखिन्छ । अझ सकिन्छ भने अनुमति विना पौडी खेल्ने र माछा मार्ने जस्ता कार्यमा प्रतिबन्ध नै गर्न आवश्यक छ । र जलाशय उपभोक्ता र जलाशयको अवलोकन गर्न जानेहरुले पनि सचेतता अपनाउन जरुरी छ ।

यसरी उपमहानगरपालिकाले बनाएका र बनाउने जलाशयलाई आगामी दिनमा सुरक्षित बनाउन कसरी सकिन्छ भन्ने विषयमा स्थानीय र सरोकारवाला निकाय सबै सचेत हुन जरुरी देखिन्छ । निर्माण भइसकेका र निर्माण हुने जलाशयलाई सुरक्षित बनाउन सकियो भने यी जलाशय मानवीय जोखिम होइन भविश्यमा सबैका लागि वरदान सावित हुने छन् । यसमा सबैउपमहानगरवासी र घोराही उपमहानगरपालिका जुट्न आवश्यक छ ।  – सम्पादक

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com