nara

किन मच्चाए गंगामायाका छोरा नुरप्रसादले उच्च अदालतभित्रै वितण्डा

काठमाडौं, ८ असोज । अनशनरत गंगामाया अधिकारीका छोरा नुरप्रसाद अधिकारीले उच्च अदालत पाटनमा वितण्डा मच्चाएका छन्।
आफूले वारेस बनेर जिम्मा लिएको मुद्दा हारेपछि उनले इजलास अधिकृत रोशन बस्नेतमाथि आक्रमण गर्दै अदालतमा तोडफोड गरेका हुन्। घटना लगत्तै प्रहरीले उनलाई पक्राउ गरेको छ।

naraउच्च अदालत पाटनका रजिष्ट्रार बाबुराम दाहालका अनुसार नुरप्रसादले ललितपुरकी विन्दु घतानीको घरजग्गासम्बन्धी मुद्दा जिम्मा लिँदै आएका थिए। ललितपुर जिल्ला अदालतबाट मुद्दा हारेपछि उनी उच्च अदालत पाटन आएका थिए। तर उक्त मुद्दामा न्यायाधीशद्वय रमेश खरेल र शेखरप्रसाद पौडेलको इजलाशले जिल्लाकै फैसला सदर गरिदिएपछि उनी आक्रमणमा उत्रिएका हुन्।

‘मुद्दा हारेपछि नुरप्रसादले हिजो साँझ पौने ५ बजेतिर इजलास अधिकृतमाथि कुर्सी प्रहार गरेका हुन्, उनले छलेपछि कुर्सी झ्यालमा ठोक्किएर सिसा फुटेका छन्,’ रजिष्ट्रार दाहालले नेपालखबरसँग भने, ‘मेरो टार्गेट न्यायाधीशमाथि नै थियो तर, उनीहरूलाई नभेटेकाले इजलास अधिकृतलाई नै हानेको हुँ भन्दै थियो।’

उनको आक्रमणबाट इजलास अधिकृत रोशन बस्नेतको हातमा सानो चोट लागेको छ। यदि कुर्सीले लागेको भए बस्नेत गम्भीर घाइते हुने अवस्था रहेको रजिष्ट्रार दाहालले बताए। संयोगवश उनले कुर्सी छल्न भ्याएकाले ठूलो दुर्घटना हुनबबाट बचेको हो।

साथै नुरप्रसादले अदालतका कम्प्युटर, दराजलगायतका सामान पनि तोडफोड गरेका छन्। ‘ऊ जहिले ठूला कुरा मात्र गरिरहन्थ्यो,’ दाहालले भने, ‘सायद उसले जिम्मा लिएको मुद्दामा केही आश्वासन दिएको हुँदो हो, त्यो पूरा नभएपछि आक्रमणमा उत्रियो।’ अहिले उनी जावलाखेल प्रहरीको नियन्त्रणमा छन्।

माओवादी विद्रोहका बेला मारिएका गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीका हत्यारालाई कारबाही माग गर्दै आमा गंगामाया अनशनरत छिन् भने बुवा नन्दप्रसादको अनशनकै क्रममा मृत्यु भइसकेको छ। नेपाल खबरबाट

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com