हामी फेरि असुरक्षित घर त बनाउँदै छैनौं ?

shree

श्रीकमल द्विवेदी 
भुइँचालो आफैंमा एउटा प्रयोगशाला हो। भुइँचालोबाट उत्पन्न तरंग जमिनमा कसरी प्रसारित हुन्छ, जमिन कसरी र कति हल्लन्छ, मानवनिर्मित संरचनाहरूलाई कस्तो असर पार्छ, कस्ता संरचनामा कति क्षति पुग्छ लगायत अध्ययन गर्ने ठूलो अवसर हो यो। यस्तो अध्ययनले भुइँचालोबाट सुरक्षित निर्माण कसरी गर्न सकिन्छ भन्ने आधार दिन्छ।

सबै घना आवादी भएका ठाउँमा यस्ता ठूला भूकम्प आइरहँदैनन्। त्यसैले, संसारभरका भूवैज्ञानिकदेखि भवन सुरक्षा अध्ययन गर्ने अनुसन्धानकर्तासम्मले नेपाल आएर अध्ययन गरे। नेपालमा व्यवस्थित रूपले अध्ययन गर्ने निकाय नहुँदा हामीले यो ठूलो अवसर गुमायौं। केहीले विदेशी वैज्ञानिकसँगको सहकार्यमा अनुसन्धान गर्ने अवसर त पाए तर पनि राष्ट्रिय रूपमै हामीकहाँ ‘भूकम्प अनुसन्धान केन्द्र’ जस्तो अनुसन्धानमूलक संस्थाको कमी देखियो। विदेशीले गरेका अनुसन्धानको लाभ लिन हामीले तिनै विदेशीलाई परामर्शदाताका रूपमा डाकेर ठूलो धनराशि खर्च गर्नुपर्ने हुन्छ।

जुन देशमा जस्ता समस्या हुन्छन्, त्यही क्षेत्रमा गहन अनुसन्धान गर्ने निकाय खडा गरिन्छ। नेपाल भूकम्पीय जोखिम क्षेत्र हो भनेर सबैले बुझेका छन्। तर, राष्ट्रिय रूपमा भूकम्प अनुसन्धान गर्ने केन्द्र खडा गर्न सकेका छैनौं। भूकम्प मापन केन्द्रमै हामी सीमित छौं। हाम्रो सोच ठूल्ठुला अनुसन्धान गरेर आउने नतिजा पनि बिनालगानी तुरुन्त प्रतिफल पाइन्छ भनेजस्तै छ। हाम्रो समस्याको समाधान हामी नेपालीले नै गर्नुपर्छ, नेपालीहरूलाई नै सक्षम बनाउनुपर्छ। विदेशी सहयोग पनि लिनुपर्छ, तर आफू बलियो बन्नका लागि मात्र, परनिर्भर बन्न होइन।
घर एउटा ठूलो लगानी हो। नेपालजस्तो आममानिसको आय अतिकम भएको मुलुकमा घर बनाउनु जीवनभरको कमाइ हो। महँगो डिजाइन त सजिलै दिन सकिन्छ, तर स्थानीय रूपमा उपलब्ध सामग्रीहरूबाट सुरक्षित र सस्तो घर कसरी निर्माण गर्न सकिन्छ भन्ने ज्ञान भूकम्पपछि तुरुन्तै उपलब्ध गराउनुपर्ने थियो। यसो हुन सकेन। फलस्वरुप धेरैले असुरक्षित घर नै निर्माण गरे, जुन भविष्यको पुस्ताका लागि फेरि धराप हुन सक्छ।

घर बनाउन राम्रो गुणस्तरको सामग्री चाहिन्छ। उचित इञ्जिनियरिङ डिजाइन चाहिन्छ। सिप भएको कर्मी चाहिन्छ। तालिमप्राप्त प्राविधिकले अनुगमन पनि गरिरहनुपर्छ। डिजाइनअनुसार डन्डी बाँधेको छ कि छैन हेर्नुपर्छ। तल हाल्नुपर्ने डन्डी माथि परे मात्र पनि त्यो संरचना कमजोर हुन्छ। सिमेन्ट वा कंक्रिट मुछ्नेबित्तिकै प्रयोग गर्नुपर्ने हुन्छ, किनकि पानी हालेर मुछेपछि सिमेन्टको जम्ने प्रक्रिया सुरु भैसकेको हुन्छ।

जमिसकेको सिमेन्ट फुटाएर जोडिँदैन। कतिपय क्षति पुगेका संरचना हेर्दा कंक्रिटको गुणस्तरमा हेलचेक्र्याइँ गरेको देखियो। भाइब्रेटर प्रयोग नगरेको हुँदा कंक्रिट नखाँदिएर बीचबीचमा खाली ठाउँ पनि देखियो। राम्रो डन्डी डिजाईन भएकै घरमा पनि डन्डीको जाली यति बाक्लो थियो, गिट्टी छिर्नै सकेनछ। बालुवा र सिमेन्टको झोल मात्र छिरेर कमजोर भएर चर्किएको पनि भेटियो। हामीले कस्ता घर कसरी र के कारणले भत्किए भन्ने तथ्यांक व्यवस्थित रूपमा जम्मा गर्नुपर्ने थियो, ताकि भएका कमजोरी सुधार गर्दै भविष्यको लागि भूकम्पबाट सुरक्षित घर निर्माण गर्न सकिने थियो। यो भविष्यको सुरक्षित निर्माणका लागि ज्ञानको ठूलो भण्डार हुन सक्थ्यो।

सामान्यतया हामी घरमा लगभग ५० प्रतिशत समय गुजार्छौं। घर सुरक्षित हुनु भनेको हामी १२ घन्टा सुरक्षित हुनु हो। बाँकी समय कार्यालय, विद्यालय वा बजारमा गुजार्छौं। यी भनेका धेरै मानिस जम्मा हुने संरचना हुन्। त्यसैले यस्ता व्यापारिक वा सामुदायिक भवन त झनै बलियो र सुरक्षित हुनैपर्छ। निजी घर बनाउनजस्तो यी व्यापारिक वा सामुदायिक भवन बनाउन आर्थिक कठिनाइ हुँदैन। त्यसैले, यस्ता भवन पूरै डिजाइनमा इञ्जिनियरिङ सुपरिवेक्षणसहित बन्नुपर्छ र हेलचेक्र्याइँ गर्नेहरूलाई अपराधीसरह कारबाही हुनुपर्छ। हामीकहाँ भने यसबारे सोच नै आएन। ठूल्ठुला व्यापारिक प्रयोजनले बनाइएका भवन भत्कँदा पनि छानबिन भएन। आपराधिक कार्यले उन्मुक्ति पायो।
जुन देशको प्रणालीले सेवाग्राहीलाई सुविधा दिनु कहिल्यै आफ्नो कर्तव्य सम्झेन, सधैं अनुग्रह गरेजस्तो मात्र गथ्र्यो, भूकम्पपछिको अवस्थामा पनि त्यस्तै भयो। हामीले सोचेका थियौं, भूकम्पपछि सरकारदेखि राजनीतिक नेतृत्वमा रहेका मान्छेको सोच केही बदलिन्छ। तर, हाम्रो प्रणाली पुरानै अवस्थामा फर्कियो। राजनीतिक भागबन्डा र कमिसनतन्त्रको जालोले पुननिर्माण पछि पर्यो। यसैको परिणामस्वरुप भूकम्पपीडितहरू एक वर्ष बित्दा पनि पीडित नै रहिरहे।

यो महाभूकम्पले नेपालीहरूलाई भुकम्पप्रतिको चासो भने ह्वात्तै बढाइदियो। भारतीय प्लेट, युरेसियन प्लेट र रेक्टर स्केल त सबैलाई कन्ठै भयो। कतिपय त जमिनको हल्लाईको अनुभवबाट यति रेक्टर स्केलको हुनुपर्छ भन्नेसम्म भए। तर, हामीले चासो राख्नुपर्ने जमिन कति हल्लियो भन्दा त्यो हल्लाइले आफ्नो ठाउँमा क्षति कति गर्यो नाप्ने ‘मर्काली स्केल’ को हो। यसको प्रचार गर्न भने हामी चुक्यौं।
साथै, सुरक्षित निर्माण र बच्ने उपायभन्दा अब कहिले आउँछ र यो रोक्ने जिम्मा कसैले लिइदिए हुन्थ्यो जस्ता सोच पनि पाइए। प्रकृतिक प्रक्रिया स्विकारेर यसबाट हामी बच्ने उपाय लिनुतर्फ लाग्नुपर्छ, न कि ‘कत्रो आउँछ र कहिले आउँछ’ को पछि लाग्नु बुद्धिमानी हुन्छ। हिमालय पर्वतको उत्पत्ति नै भूकम्पको कारक भारतीय प्लेट युरेसियन प्लेटमुनि धस्सिँदै जाँदा जमिन उचालिएर भएको हो। यो प्रक्रिया करोडौं वर्ष अर्थात् मानिसको उत्पत्ति यो पृथ्वीमा हुनुभन्दा अघिदेखिकै हो। र, यो निरन्तर चलिरहन्छ।

प्रकोपबाट बच्ने हो भने हामीले सुरक्षित निर्माण गर्नुपर्छ। पेसागत, व्यक्तिगत र व्यावसायिक रूपमा सबैले आफ्नो आफ्नो क्षेत्रमा इमानदारीतासाथ काम गरे मात्र हामी प्रकोपबाट सुरक्षित रहन सक्छौं।
 (लेखक भूगर्भविद् हुन् )                                                                                                                                           सेतोपाटी बाट

About Kesharman Bc

Social Media Auto Publish Powered By : XYZScripts.com